Thursday, January 24, 2013

नेपाल वायुसेवा निगमलाई नयाँ जहाज किन्न कानुनी बाटो खुला

१७ माघ २०१३, काठमाण्डौं
 
नेपाल वायुसेवा निगमले पुरानै प्रक्रियाअनुसार एयरबसको जहाज किन्न सक्ने कानुनी बाटो खुलेको छ । खरिद प्रक्रिया रोक्न निर्देशन दिने तत्कालीन सार्वजनिक लेखा समितिको निर्णय नै गैरकानुनी भन्दै सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ पाएपछि निगमलाई प्रक्रिया सुचारु गर्न सहज भएको हो ।

न्यायाधीशद्धय भरतराज उप्रेती र कल्याण श्रेष्ठको संयुक्त इजलासले वैशाख १२ मा गरेको फैसलाको पूर्णपाठ संस्कृति, पर्यटन, तथा नागरिक उडड्यन मन्त्रालयले यसै साता पाएको छ । मन्त्रालयले यसैलाई आधार मानेर पुरानै प्रक्रियाअनुसार जहाज खरिद प्रक्रिया अघि बढाउन सकिने बताएको खबर कारोबारलगायतका विभिन्न दैनिक पत्रिकाले छापेका छन् ।

निगम सञ्चालक समितिले मंगलबार र बुधबार यसको कानुनी पक्षबारे छलफलसमेत गरेको छ ।

‘सर्वोच्चको स्पष्ट फैसलाबाट हामी पुरानो एयरबस जहाज खरिद प्रक्रियामा अगाडी बढ्नसक्ने बाटो खुलेको छ,’ मन्त्रालयका सहसचिव तथा कानुन शाखा प्रमखु रञ्जनकृष्ण अर्यालले भने, ‘अझै केही छलफल गरी एयरबससँगको जहाज किन्ने प्रक्रिया टुंगो लगाइनेछ ।’