Tuesday, March 19, 2013

भारतीय कम्पनीले ल्यायो सबैभन्दा सस्तो इलेक्टि्रक कार


भारतको चर्चित मोटर कम्पनी महिन्द्राले विश्वकै सम्भवतः सबैभन्दा सस्तो विद्युतिय कार सार्वजनिक गरेको छ । रेवा इ टू नाम दिइएको उक्त कारको भारतीय बजारमा मुल्य ५ लाख ९० हजार भारु तोकिएको छ । भारतमा सार्वजनिक गरिएलगत्तै यहीँ वर्षभित्रमा यो कार युरोप तथा अफि्रकाका बजारमा पूराउने लक्ष्य महिन्द्रा कम्पनीको रहेको छ ।

बिजुलीबाट चल्ने यो कारको गति ८० किलोमिटर प्रतिघण्टा सम्म छ भने एकचोटी ब्याट्री पूरा चार्ज गरेको खण्डमा यो कार १ सय किलोमिटर सम्म गुड्न सक्छ । महिन्द्राले प्रदुषणरहित भविष्य बनाउने लक्ष्य सहित यो सस्तो विद्युतिय कार बनाएको दाबी गरेको छ । महिन्द्राले सन् २०१० मा रेवा कम्पनी खरीद गरेको थियो । महिन्द्राले खरिद गरेपछि रेवाबाट निर्मित यो पहिलो कार हो ।

यसअघिको रेवा कारमा केवल दुइ जना मात्र बस्ने सक्ने रहेकोमा अहिलेको कारमा ४ जना सम्म बस्न मिल्छ । यो कारको ब्याट्री पाँच घण्टामा फूल चार्ज हुन्छ । अझ रोचक कुरा त के भने यो कारको छतमा राखिएको सोलार प्यानलबाटै ब्याट्री चार्ज गर्न सकिन्छ ।

यो कारमा जिपिएस नेभिगेसन, कि लेस इन्ट्री तथा स्टार्ट स्टप जस्ता अत्याधुनिक प्रविधि समेत जडान गरिएको छ । यो कारमा ब्रेक लगाउँदा पैदा हुने उर्जाबाट समेत ब्याट्री चार्ज हुने प्रविधि छ ।