Saturday, February 2, 2013

‘क्यान इन्फोटेक २०१३’ माघ २४ गतेदेखि

कम्प्युटर एशोसिएशन नेपाल (क्यानले) वर्षेनी आयोजना गर्ने क्यान इन्फोटेकको १९ औ संस्करण ‘मिदास क्यान इन्फोटेक २०१३‘ यस पटक भने माघ २४ गतेदेखी सुरु हुने भएको छ। विश्वमा सूचना तथा संचार क्षेत्रमा भएका विकास तथा नेपालमा पनि यसको विकास, विस्तार तथा प्रवद्धन गर्ने उद्देश्य अनुरुप क्यानले इन्फोटेक गर्न लागेको हो। क्यानले बुधबार राजधानीमा पत्रकार सम्मलेन गरी इन्फोटेकको १९ औ संस्करणको तयारी पुरा भएको जानकारी दिएको हो। क्यान इन्फोटेक माघ २४ देखी २९ गतेसम्म (फेब्रुवरी ६-१३) राजधानीको भृकुटीमण्डपमा आयोजना गरिने छ।

CAN Info-Tech 2013

Venue: Exhibition hall, Bhrikuti Mandap, Kathmandu, Nepal
Date: From 6th to 11th February 2013 (24 - 29 Magh, 2069)
Entry Fee: Rs 100 for the general public and Rs 50 for students


यस पटकको क्यान इन्फोटेकको उन्नाइसौ संस्करणलाई मिदास टेक्नोलोजिज प्रा.लि.ले टाइटल स्पोन्सर गरेको प्रायोजन गरेको हुँदा यस पटकको संस्करणको नाम न‌ै मिदास क्यान ईन्फोटेक २०१३ राखिएको छ। यसका साथै प्लाटिनम स्पोन्सरमा डेल बाई नियोटेरिक नेपाल, डायमण्ड स्पोन्सर वेव सर्फर, गोल्ड स्पोन्सरहरु नेपाल टेलिकम र जेनेरेशन नेक्स्ट, सिल्भर स्पोन्सरहरु एस पावर वि.पि.ई. र माया एनिमेशन एकेडेमी र प्रिन्ट स्पोन्सरमा फोन पे प्रा.लि रहेको छ।
टाइटल स्पोन्सर रहेको मिदास टेक्नोलोजिज् प्रा.लि.ले बिगत लामो समयदेखि स्कुल तहका बिद्यार्थीहरुलाई स्व–अध्ययन गर्न मिल्ने “घोकेर होइन बुझेर पढौं” भन्ने अभियानका साथ एजुकेशनल सिडी, “मिदास एजुकिट” लगायतका नयाँ अफरहरु  यस पटकको क्यान इन्फोटेकमा ल्याउने भएको छ। मिदास प्रालिले नेपालको पाठ्यक्रममा आधारित स्कुल तहको सिकाईलाई प्रभावकारी बनाई शिक्षण प्रकृयामा रचनात्मक सुधार गर्ने उद्देश्यले स्कुले वालबालिकाहरुका लागि ‘इम्पावरिङ टिचिङ,  इन्स्पायरिङ लर्निङ’ भनेर  मिदास ई क्लासको सुरुवात गर्ने जनाएको छ। उसले मिदास ईक्लास बिषय बिज्ञहरुको समूहले आधुनिक प्रविधिको प्रयोग गरि तयार पारिएको एनिमेटेड अन्तरक्रियात्मक  श्रव्य दृश्य शिक्षण विधि समेत प्रदर्शनीमा राख्ने जनाएको छ। शिक्षकले कक्षाकोठामा यसको प्रयोग गरि पढाँउदा बिद्यार्थीहरुले आफ्नो पढाईमा चाख दिने तथा पढाएको पाठहरु सजिलै बुझ्ने र कहिले नबिर्सने गरी शिक्षण पद्दतिलाई बैज्ञानिक तथा सृजनात्मक रुपमा प्रस्तुत गर्ने कदमको रुपमा रहेको मिदासले दावी गरेको छ। मिदास ई क्लासलाई स्कुलमा लागु गर्नका लागि शिक्षकहरुलाई समेत क्षमता अभिवृद्धि तालिम तथा निरन्तर निगरानी गर्ने कार्यक्रम ल्याउने तयारी गरेको मिदास एजुकेशन प्रालिका निर्देशक  छत्रहरी कार्कीले जानकारी दिनुभयो।
यसैगरी प्लाटिनम स्पोन्सर नियोटेरीक नेपालले अपरेटिङ सिस्टम विन्डोज ८ भएका डेल ब्रान्डका ल्यापटप तथा ट्यावलेटहरु, विभिन्न नेपाली एप्लिकेशनहरु सपोर्ट गर्न सक्ने विन्डोज ८ नोकिया लुमिया मोवाईल फोन, सस्तो ट्यावलेटहरु तथा ट्यावलेटहरुको लागि शैक्षिक सफ्टवेयरहरु प्रदर्शनीमा राख्नेछ।
यस्तै डायमण्ड स्पोन्सर वेवसर्फरले घर घरमा ईन्टनेटको पहुँच पुर्‍याउन भनेर ईन्टरनेट प्याकेजमा विषेश छुटको योजना ल्याउने भएको छ। त्यस्तै देशव्यापी रुपमा ईन्ट्रानेट विस्तार गर्न चाहने संस्था तथा कम्पनीहरुले क्यान ईन्फोटेकको समयावधिभित्र बुकिङ गरेमा ईन्स्टलेशन शुल्क नलिने साथै हस्पिटल, होटेल, कलेज, जस्ता संस्थाहरुमा वाईफाई ईन्टरनेट जडानका लागि प्रविधि तथा सेवा उपलब्ध गराउने र वेव सर्फरको कल विदेश प्याकेजमा विशेष छुट प्रदान गर्ने भएको छ।
त्यस्तै गोल्ड स्पोन्सर प्रायोजनकर्ता नेपाल टेलिकमले भने वाईम्याक्स प्रविधिको बजार प्रवर्द्धनका लागि ई–भिडियो सेवाको बारेमा विशेष जानकारी प्रदान गर्नेछ। उसले प्रदर्शनीको समयमा प्रदर्शनी स्थलमा मोवाईल प्रयोगको चापलाई ध्यानमा राखि नेपाल टेलिकमले मोवाईल वि.टी.स.भ्यान समेत राख्ने भएको छ। गोल्ड स्पोन्सर जेनेरेशन नेक्स्टले भने डेल ब्रान्डका ल्यापटप, मोनिटर, प्रिन्टरहरु र एम.११० मोडेलको पाल्म साईज प्रोजेक्टरहरु प्रदर्शनीमा राख्नेछ। साथै १२ कक्षा भन्दा माथि अध्ययन गर्ने विद्यार्थीहरुका लागि डेल ल्यापटपको खरीदमा विन्डोज ८ अपरेटिङ्ग सिस्टम निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ।
सिल्भर स्पोन्सर एस्.पावर वि.पि.ई.ले फोर्ट्युनर ब्रान्डका १०० भि.ए. देखि १५ के.भि.ए.सम्मका आधुनिक प्रविधि युक्त सोलार ईन्भर्टरहरु मिदास क्यान ईन्फोटेक २०१३ मा विशेष प्रदर्शनी गर्नुका साथै १ के.भि.ए.देखि ४८०० के.भि.ए. सम्मका वि.पि.ई. अन लाईन यू.पि.एस.हरुको पनि प्रदर्शनी गर्दैछ।
यसैगरी सिल्भर स्पोन्सर रहेको माया एनिमेशन एकेडेमीले क्यान ईन्फोटेकका अवलोकनकर्ताहरुलाई थ्री डी एनिमेशन मुभीज कसरी बनाउने भन्ने विषयमा विशेष जानकारी प्रदान गर्ने छ। साथै नेपाली एनिमेटरहरुद्धारा तयार गरीएका एनिमेटेड मुभिज समेत प्रदर्शनी गर्नेछ। प्रिन्ट स्पोन्सर फोनपे प्रा.लि.ले भने दैनिक रुपमा गर्दै आईरहेको आर्थिक तथा किनमेल कार्यलाई मोवाईल र ईन्टरनेटको माध्यमबाट कसरी सहजीकरण गर्न सकिन्छ भन्ने कुरालाई प्रवर्द्धन र जागरुक गराउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नेछ।
मिदास क्यान ईन्फोटेक २०१३ मा प्रदर्शनी गरिने सामानहरु तथा सेवाहरुका विषयमा जानकारी प्राप्त गर्न अवलोकन कर्ताले आफ्नो मोबाईलको म्यासेज बक्सबाट क्यान स्पेश लेखि आफूले खरीद गर्न चाहेको सामान वा ब्रान्डको नाम वा सर्भिसको नाम टाईप गरी ५००१ मा पठाए जानकारी पाउनेछ।
यस्तै स्प्यारो एस.एम.एस.ले पनि मिदास क्यान ईन्फोटेक २०१३ बाटै डिजिटल भिजिटिङ्ग कार्ड प्रणालीको शुरुवात गर्ने जनाएको छ। स्प्यारो एस.एम.एस.ले हरित शहरको अवधारणा अनुसार मिदास क्यान ईन्फोटेक २०१३ बाटै पत्रकारहरुको लागि नि:शुल्क डिजिटल भिजिटिङ कार्ड सेवाको समेत सूरुवात गर्ने भएको छ। आईफोन तथा एन्ड्रोईड मोवाईल प्रयोगकर्ताहरुले एन–लोकेट मोवाईल एप्लिकेशन डाउनलोड गरी क्यान ईन्फोटेकमा सहभागी कम्पनी, सामानहरु, सामानका ब्रान्डहरु तथा सेवाका आधारमा जानकारी प्राप्त गर्न सक्नेछन्। यो सेवा नेपवेज प्रा.लि.सँगको सहकार्यमा आगामी माघ १५ देखि सूरुवात गरिनेछ। मिदास क्यान इन्फोटेक अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु १०० र विद्यार्थीहरुलाई रु ५० तोकिएको छ।
यसका साथै इन्फोटेकको विशेष दिन माघ २८ गते लाई बिजिनेस डे को रुपमा घोषणा गरिएको छ। उक्त दिन भने सबैलाई प्रवेश शुल्क रु १०० नै तोकिएको छ। उक्त दिन विषेश गरी विजिनेस हाउसहरुले आफ्नो व्यापार प्रवर्द्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्षरुपमा व्यापार प्रवर्द्धन गर्ने जनाएको छ। विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ। साथै अवलोकनकर्ताहरुलाई ध्यानमा राखि प्रदर्शनीको अनलाईन टिकेट खरीदको व्यवस्था मिलाईएको छ। यसका साथै अनलाइन टिकट खरिद गर्नका लागि आई टी नेपाल र ई–सेवासँगको सहकार्यमा २०६९ माघ १५ देखि can.org.np मा वा caninfotech.org.np मा लगअन गरी खरीद गर्न सकिने व्यवस्था मिलाईने छ। यस्तै अनलाईन टिकट खरिदमा २० प्रतिशत छुटको समेत व्यवस्था मिलाईएको छ।
छ दिनसम्म सञ्चालन हुने इन्फोटेकमा मुख्य हलभित्र  ३९ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्ष, हल बाहिर १ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्ष, ट्रसमा १४४, ओपन स्पेस १३, वालमा ७ वटा, र फुड स्टल १५ गरी जम्मा २१९ वटा स्टल (प्रदर्शनी कक्षहरु) रहने छन्। यसका साथै प्रदर्शनीमा हार्डवेयर सेल्स मेन्टीनेन्ससँग सम्बन्धीत कम्पनी पावर सोलुसन, मोवाइल एक्सेसरीज, डिलर डिस्ट्रिब्युटर, आइएसपी, आइटी कलेज तथा ट्रेनिङ सेन्टरहरु, टेलिकम्युनिकेशन, सफ्टवेयर सोलुशन, पेमेन्ट शोलुशन लगायत रहेनेछन्। यस पटकको यस पटकको क्यान इन्फोटेकमा ४,५०,००० भन्दा बढी अवलोकनकर्ता आउने आशा गरिएको छ।
१३औं सूचना प्रविधि सम्मेलन पनि हुने

यससँगै सँगै माघ २६ गतेदेखि यस पटक पनि १३औं सूचना प्रविधि सम्मेलनको आयोजना गरिनेछ। क्यान र इन्टरनेट सोसाईटी नेपाल च्याप्टरको संयुक्त पहलमा उक्त सूचना प्रविधि सम्मेलन हुन लागेको हो। उक्त सम्मेलनमा यस पटक भने ई–डेमोक्रेसी शिर्षकमा बहस र छलफल हुने सम्मेलनका संयोजक बाबुराम अर्यालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।
उहाँले उक्त सम्मेलनमा विभिन्न सरकारी, गैरसरकारी, निजी संघ संस्थाका प्रतिनिधि तथा अन्य सहभागी हुनुहुने समेत बताउनुभयो। यसका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुले ई–डेमोक्रेसी ईन्स्फ्रास्ट्रक्चर, सेक्युरीटि एण्ड डाटा प्रोटेक्सन, ई–पार्टीसिपेसन ईन डेमोक्रेसी प्रोसेस, फ्रिडम अफ एक्सप्रेसन अनलाईन जस्ता विषयमा  छलफल र बहस हुने संयोजक अर्यालले जानकारी गराउनुभयो। उहाँका अनुसार सम्मेलनमा भारत, सिंगापुर, कोरिया लगायतका देशहरुबाट प्रतिनिधीहरु आउने छन्। सम्मेलन दुई दिनसम्म काठमाडौंको होटेल याक एण्ड यतीमा चल्नेछ।