Tuesday, February 5, 2013
अमेरिकी राष्ट्रपती ओबामाले बचाउका लागी 'साइबर आक्रमणको आदेश' दिन सक्ने
3:47 AM
News
अमेरिकाले आफूमाथि प्रमुख डिजिटल आक्रमण
हुने विश्वसनीय प्रमाण फेला पारेमा यस्तो आक्रमण हुननदिन आफैँले आक्रमण
गर्नसक्ने र यस्तो आक्रमणको आदेश दिने अधिकार अमेरिकी राष्ट्रपतिलाई भएको
निष्कर्ष एक गोप्य कानुनी पुनरावलोकनमा निकालिएको समाचार न्यु योर्क
टाइम्सले सोमबार दिएको छ ।
यस कानुनी पुनरावलोकनमा संलग्न अधिकारीले
यस्तो सम्भावित आक्रमणको सङ्केत देखिएमा गुप्तचर संस्थाहरूले विदेशमा रहेका
कम्प्युटर सञ्जालहरूमा अनुसन्धान गर्न सक्ने र राष्ट्रपतिले आदेश दिएमा
त्यस्ता कम्प्युटरलाई नष्ट बनाउन कोडहरू प्रयोग गर्नसक्ने अवस्था रहेको
जानकारी दिए भनी पत्रिकामा उल्लेख गरिएको छ । अमेरिकी प्रतिरक्षा
मन्त्रालयले आफ्नो साइबर सुरक्षा बलमा आउँदा वर्ष पाँच गुणाले वृद्धि गर्ने
योजनालाई स्वीकृति प्रदान गरेको छ । यसले अमेरिकी महत्वपूर्ण कम्प्युटर
सञ्जालको सुरक्षाको व्यवस्था विस्तार गर्ने बताइएको छ ।
वासिङ्टन पोस्टले हाल साइबर कमान्डमा ९००
कर्मचारी रहेकोमा आउँदा दिनमा चार हजार ९०० सैनिक तथा कर्मचारी रहने उल्लेख
गरेको छ । गत नोभेम्बर महिनामा प्रतिरक्षामन्त्री लेओन पेनेटाले अमेरिकी
साइबर सुरक्षामा थप वित्तीय सहयोग तथा मानवीय संसाधन आवश्यक भएको
बताउनुभएको थियो । गत गृष्ममा साउदी अरेबियाको सरकारद्वारा सञ्चालित तेल
कम्पनीका ३० हजार कम्प्युटरका तथ्याङ्क मेट्ने गरी भाइसर पठाइ आक्रमण भएको
देखिएको थियो ।
साइबर युद्धकला विकासका लागि केन्द्रीय
गुप्तचर संस्था हेर्नका लागि मनोनयन हुनुभएका जोन ब्रेनानले मुख्य भूमिका
खेल्नुभएको द टाइम्सले उल्लेख गरेको छ । राष्ट्रपति ओबामाले इरानको
पारमाणविक संयन्त्रमा यस प्रकारको कारवाही गर्न आदेश दिनुभएको पनि
पत्रिकाले उल्लेख गरेको छ ।
पूर्व राष्ट्रपति जर्ज डब्लु बुसको
कार्यकालमै पेन्टागनमा ओलम्पिक गेम्स नाम दिइएको यस्तो कारवाही भएको र
यसबाट अन्य मुलुकमा बम आक्रमण नगरिकनै तथा आक्रमणकारी नपठाइकनै त्यहाँको
संरचनालाई नष्ट बनाउन सकिने देखिएको पत्रिकाले उल्लेख गरेको छ ।
पुनरावलोकनमा भाग लिएका अमेरिकी वरिष्ठ
अधिकारीहरूले साइबर हतियार पनि पारमाणविक हतियार जस्तै शक्तिशाली हुने र
यसलाई सेनाप्रमुखको प्रत्यक्ष आदेशमा मात्र उपयोग गर्न सकिने ठानेको उक्त
पत्रिकाले उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय कानुनअनुसार कनै पनि
मुलुकले आफूलाई चुनौतीबाट जोगाउनसक्ने देखिन्छ र अमेरिकाले यो सिद्धान्त
अवलम्बन गरेको बताइएको छ ।
नयाँ निर्देशिकाअनुसार पेन्टागनले अमेरिकी
कम्पनी तथा व्यक्तिको कम्प्युटरमा सामान्य साइबर आक्रमण हुँदा पेन्टागन
संलग्न नहुने र यसका लागि गृहसुरक्षा विभागले जिम्मेवारी लिने बताइएको छ ।
यसो भए पनि अमेरिकाभित्रै प्रमुख साइबर आक्रमणमा सेना संलग्न रहने पनि उक्त
पत्रिकाले उल्लेख गरेको छ ।-रासस