Thursday, February 28, 2013

पोखराका तीन ठाउँमा निःशुल्क वाइफाई

पर्यटकले अब पोखरामा सित्तैमा वाइफाई सेवा उपयोग गर्न पाउने भएका छन्। कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) कास्कीले पोखरा आएका स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि निःशुल्क वाइफाई सेवा दिने योजना बनाएको हो।

क्यान कास्की अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले पर्यटकीय गतिविधि बढी हुने पोखराका तीन ठाउँमा पर्यटकका लागि निःशुल्क वाइफाई सेवा दिने गरी पूर्वाधार खडा गर्न लागेको जानकारी दिए। पोखरा विमानस्थल, लेकसाईड र विन्ध्यवासिनी मन्दिर आसपासका क्षेत्रमा निःशुल्क वाइफाई सेवा दिने तयारी गरिरहेको उनले बताए।

'चालु आर्थिक वर्ष भित्रै सक्ने गरी यो योजना बनाएका छौं, यसका लागि पोखरा उपमहानगरपालिका र जिल्ला विकास समिति कास्कीसँग सहकार्य गर्दैछौं,' उनले भने, 'विदेशी पर्यटकले पैसा तिरेर मात्र अहिलेसम्म वाइफाई सेवा उपयोग गर्न पाएकाले हाम्रो सेवाले बढी लाभान्वित हुनेछन्।' सहकार्यका लागि जिविस र उपमहानगरपालिकामा प्रस्ताव लैजान लागेको उनले बताए।

जिविस र उपमहानगरपालिकाबाट सहयोग नपाए अन्य दाता खोजेर भए पनि पोखरा आएका पर्यटकलाई निःशुल्क वाइफाई सुविधा दिने योजना रहेको उनले बताए। 'हाम्रो योजना पूरा भए पोखरा आएका सबैखाले पर्यटकले निःशुल्क वाइफाई सेवा पाउनेछन्,' उनले भने, 'पर्यटकका लागि यो निकै नै लाभदायक हुनेछ।' हरेक क्षेत्रमा ३/४ ठाउँमा शक्तिशाली डिभाईस राखेर वाइफाई सेवा दिने तयारी भएको उनले बताए।

क्यान अध्यक्ष श्रेष्ठका अनुसार पर्यटकले अहिले लेकसाइडमा वाइफाई चलाउँदा प्रतिघन्टा ३० देखि ५० रुपैयाँ शुल्क तिर्नुपर्छ। निःशुल्क सुविधा दिन नसकिए पर्यटकले पैसा तिर्नु नपर्ने उनले बताए। 'लेकसाइडका होटलले बास बसेका पर्यटकका लागि निःशुल्क वाइफाई सुविधा दिए पनि बाहिरी क्षेत्रमा चलाउन पैसा तिर्नुपर्छ,' उनले भने, 'हामीले पैसा नै नतिरी यो सुविधा दिन खोजेका हौ। त्यसैका लागि पनि दाताको खोजि गर्नुपरेको हो।' पोखरा उपमहानगरपालिकाले पनि क्यानको प्रस्तावलाई सहयोग गर्ने जनाएको छ। उपमहानगरका कार्यकारी प्रमुख झलकराम अधिकारीले सूचनाप्रविधि क्षेत्रमा सघाएर पोखरा घुम्न आएका पर्यटकलाई सेवा दिन तयार रहेको बताए। 'यसप्रति उपमहानगरको सक्दो सहयोग हुनेछ,' अधिकारीले नागरिकसँग भने।

अहिलेसम्म पोखरा आएका पर्यटकले महँगो शुल्कमा वाइफाई चलाउन बाध्य भइरहेको बेला क्यानले अघि सारेको प्रस्तावलाई उपमहानगरले सहर्ष स्वीकार्ने उनले बताए। 'पर्यटकीय क्षेत्रमा यसको निकै नै ठूलो महत्व छ, आधुनिक सञ्चार प्रविधिको युगमा हामीले पर्यटकलाई यो सेवा दिन सके थप पर्यटन प्रवर्द्धन हुन्छ,' कार्यकारी अधिकृत अधिकारीले भने, 'कतिपय पर्यटकले वाइफाई सेवा नपाएर समस्या भोग्न बाध्य भएका छन, यसले उनीहरु लाभान्वित हुनेछन्।'

पर्यटन व्यवसायी पनि क्यानको योजना सकारात्मक रहेकाले यसले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउँछन्। 'सूचना प्रविधिको क्षेत्रमा कार्यरत संस्थाले यसलाई कार्यन्वयन गर्न सके निकै नै राम्रो हुन्छ,' पर्यटन व्यवसायी विजय गुरुङले भने, 'यसलाई व्यवस्थित गरेर लागु गर्न सके पोखरा आएका पर्यटकले ठूलो फाइदा लिन सक्छन्।'

टेलिकम पोखराका सेल्स प्रमुख राजेश रेग्मीका अनुसार वाइफाइ प्रयोजनका लागि एडिएसएल सेवा लिनेको संख्या बढ्दो छ। टेलिकमले पोखरामा एडिएसएल, लिजलाइन, वाइम्याक्स, ई- भिडियो, थि्रजी, डाटाकार्ड लगायतका प्रविधिबाट वाइफाई सेवा दिइरहेको छ। 'परिवारसँग सम्पर्क गर्न र समाचार थाहा पाउन अधिकांश पर्यटकले वाइफाई प्रयोग गर्ने भएकाले निःशुल्क सेवा दिए झनै प्रभावकारी हुन्छ,' उनले भने। साभार:नागरीक